http://www.enasha.com/article.php?id=989
नेपाली सञ्चार माध्यममा 'ग्ल्यामर' विषयसूचि वा विषयवस्तुका रुपमा शुरु निकै अघिदेखि भएको हो । तर व्यवस्थित र व्यवसायिक रुपमा 'कामना' पत्रिकाले थालनी गर्यो । त्यसपछि ग्ल्यामर लिएर अनेकौँ पत्रपत्रिकाहरु आए । ग्ल्यामर नेपाली चलचित्र हुँदै नेपाली म्युजिक भिडियोसम्म आएको देख्छौँ । आज विदेशी पत्रपत्रिकाको नेपालमा आगमन र पछिल्लो समयमा आएर स्याटेलाइट टेलिभिजन भित्रिएपछि यसले नेपाली समाजमा चाँडै नै स्थान बनाउन सफल भयो । तर नेपाली समाज परम्परागत मूल्य, मान्यतामा आधारित भएकाले मानिसहरुले यसलाई खुलेर स्वीकार गरेको देखिन्न, जब कि व्यवहारमा ग्ल्यामरलाई सर्वसाधारणले प्रशस्त अङ्गीकार गरेको छ । यसलाई हामी नेपालीको 'डबल स्ट्यान्डर्ड' (Double Standard) अर्थात् द्वैध चरित्रको रुपमा लिन सक्छौँ ।
नेपाल पत्रिकाको बैशाख २, २०६४ अंकको पेज ५४ मा छपिएको मोडल हिमानी संवन्धी लेख
नेपाली अधिकांश मिडियाहरु कुनै न कुनै रुपमा ग्ल्यामरमा आधारित छन् । जस्तो कान्तिपुर साप्ताहिक, कामना, मोडलिङ र फेशन सम्बन्धी अनेकन् नेपाली टेलिभिजन कार्यक्रमहरु अथवा फेशन टीभी, एमटीभी, च्यानल भी, ग्ल्यामर गीत र दृश्य भएका सिनेमाहरु आदिको लोकप्रियता ज्यादै देख्न सक्छौँ । त्यस्तै, राष्ट्रिय दैनिक अखबारहरु कान्तिपुर, समाचारपत्र, हिमालयन, अन्नपूर्ण, काठमान्डू पोष्टदेखि हिमाल खबरपत्रिका, नेपाल आदि पत्रपत्रिकाले पनि ग्ल्यामरलाई सर्वस्वीकार्य लेखनका रुपमा लिइरहेका छन् । ग्ल्यामर र सौन्दर्य प्रतियोगिता कति लोकप्रिय छन् भन्ने कुरा वार्षिक १४/१५ वटा ठूल्ठूला सौन्दर्य र ग्ल्यामर प्रतियोगिताको आयोजनबाट नै थाहा हुन्छ ।
यसरी मिडियाले अनेकौँ रुपमा ग्ल्यामरको उपयोग गर्दै आइरहेको छ । तर जब मिडियाबाट नै ग्ल्यामरको गलत परिभाषा हुन्छ, तब योसँग सम्बन्धित व्यवसायीहरुलाई ठूलो मर्का पर्छ । अरु पेशाजस्तै मोडलिङमा पनि केही खराबी हुनसक्छन्, त्यो समाजको हरेक पाटोमा देखिने कुरा हुन् । तर पत्रिकामा ग्ल्यामर लेखिँदा बढी बिकाउन सनसनीपूर्ण बनाउँदा यसको नकारात्मक प्रभाव पर्न जान्छ ।
नेपाल पत्रिकाको चैत ४, २०६३ अंकको पेज ५४ मा छपिएको मोडल स्म्रीती खड्का संवन्धी लेख
एक समय यस्तो थियो, रङ्ग पत्रकारिता भनेको अरुलाई नङ्ग्याउने पत्रकारिता हो । यसको प्रभाव कस्तो रहृयो भने सिनेमामा सधैँ भरि असल परिवारबाट असल कलाकार बन्ने व्यक्ति देखिन छाडे । अहिले अशोक शर्मा, क्वेष्ट इन्टरटेन्मेन्ट, नवीन सुब्बाजस्ता 'जेनयून्' चलचित्रकर्मीहरु चाहेजस्तो कलाकारको अभावका कारण छटपटिइरहेका छन् । नकारात्मक टिप्पणीले मात्र उद्योग सुध्रिने थियो भने शायद नेपाली चलचित्र उद्योगबाट दर्जनौँ चलचित्रहरु कान चलचित्र महोत्सवमा सहभागी भइरहेका हुने थिए । आलोचनाले मात्र उद्योग बनिने भए आज चलचित्र उद्योगको यो दशा हुने थिएन ।
नकारात्मक लेख वा टिप्पणी वा समाचारले पहिलो आक्रमणको शिकार व्यवसायीहरु हुनु पर्दछ । कसैको चरित्र हत्या हुँदा उसलाई पारिवारिक र सामाजिक समस्यामा फँस्न पुग्छ । श्रीषा कार्की काण्ड यसको जीवित प्रमाण हो । जुनसुकै व्यवसायको चरित्र हत्या हुँदा त्यस व्यवसायप्रति मानिसको दृष्टिकोण परिवर्तन हुनसक्छ । र, योग्य व्यक्तिहरु यस क्षेत्रमा आउन गाह्रो हुन्छ । यसका कारण न त राम्रा र योग्य व्यक्ति अभिनेता बन्न आउँछ, न त राम्रो व्यक्ति मिस नेपालमा भाग लिन चाहन्छ न त राम्रो मोडल नै बन्न आउँछ । उद्योगका कतिपय कुराहरु साङ्लोझैँ बेरिएका हुन्छन् । ग्ल्यामर उद्योग नफस्टाइ र त्यसले सम्भावना नदेखाई क्षमतावान् व्यक्तिहरु आउँदैनन् र क्षमतावान् व्यक्तिहरु नआई उद्योग फस्टाउँदैन ।
तसर्थ ग्ल्यामरको बारेमा नेपाली मिडियाको स्पष्ट सोच हुन ज्यादै जरुरी छ । कि त सबै किसिमका विदेशी मिडिया, सूचना प्रवाहलाई बन्द गरेर हाम्रो आधुनिकता र ग्ल्यामरलाई पनि बन्द गर्नुपर्छ कि त समाजले विस्तारै अँगाल्दै गरेका आधुनिक मूल्य, मान्यतालाई मिडियाले पनि साथ दिनु पर्छ । नत्र भने कोठे रिपोर्टिङका भरमा कुनै एउटा व्यक्तिलाई मनमा लागेको कोरा सोचले वृहद् आकारमा ठाउँ पाउनु हुँदैन ।