रामेश्वर हटाउन पछिको रामकहानी
'कुत्तोको १० करोड तो देदिया...'
मदिरा लागेका कारण शंकर अलि बढी नै उत्तेजित थिए, हायात होटलको बेसमेण्टमा चलिरहेको पार्टीमा शंकरले वरपर रहेका मोर, बैंक अफ एसियाका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल र अरु मारवाडीसँग भन्दै थिए, ‘यिन कुत्तोको १० करोड तो देदिया, अभितक नहि तो भरतमोहनको फाइनान्स मिनिस्टर बनातें हैं, नहि तो वो सेक्रेटेरी क्या है उस्का नाम…(वीचमा कसैले रामेश्वर भनिदिन्छ), हाँ वो बेवकुफ रामेश्वरको हि चेञ्ज करतें हैं । पता नहिं यार ये विनोद भी क्या कर रहा है ।’
उत्तेजित भएका शंकरले अलि चर्को स्वरमा बोलिरहँदा मारवाडीसँगै अरु केही नेवार समुदायका उद्योगपति व्यापारीहरु पनि नजिकै आइपुगेका थिए । त्यसैवीचमा त्रिलोकले शंकरलाई शान्त पार्दै र कुरालाई अघि नबढाउने संकेतका साथ भन्दै थिए, ‘जरा धिरज राखो कुछ तो होगा ।’
त्यही पार्टीका एक सहभागी भन्छन्, शंकरले कुत्ता भनेर एमालेलाई भन्न खोजेका थिए । उन्का अनुसार त्यतिवेला झलनाथ खनाल प्रधानमन्त्री बनिसकेको अवस्था थियो भने भरतमोहन अधिकारी सहित एमालेका तीन जना नेताले विनाविभागीय मन्त्रीको सपथ खाएको अवस्था थियो । विनाविभागीय मन्त्री बनाएको केही दिन भैसक्दा समेत भरतमोहन अधिकारी अर्थमन्त्री नबनेकोमा शंकरको रोष थियो ।
मारवाडी समुदायसँग नजिकको सम्वन्ध भएका एक जना उद्योगपति भन्छन्, त्यतिवेला शंकर निक्कै आक्रोशित हुनुको पहिलो कारण थियो, मंगलवार अब सरकारी सेवक भएर हैन नागरिक समाजको प्रतिनिधी भएर काम गर्छु भन्दै अर्थसचिवबाट विदा भएका रामेश्वर खनाल । खनाल शंकरको आक्रमणको तारो बन्नुको कारण थियो, नक्कली भ्याट विल प्रकरण । यो प्रकरणमा गोल्यान अध्यक्ष रहेको शंकर गु्रपका केही उद्योगले राजस्व छलेको भन्दै भ्याट र जरिवाना सहित झण्डै ३० करोड रुपैयाँभन्दा बढी राजस्व असुल गर्नुपर्ने प्रारम्भिक फैसला हुँदै थियो ।
नक्कली भ्याटविल प्रकरणलाई सुक्ष्म अध्ययन गर्न खनालले दिएको निर्देशन तथा कारवाही गरि छाडने प्रतिवद्धतादेखि शंकर निक्कै डराएका थिए । शंकर मात्रै होइन नक्कली भ्याट विल प्रकरणमा भरतमोहन अधिकारीसँग नजिकको सम्वन्ध भएको भनिएका मारवाडी विशाल गु्रपका अग्रवाल दाजुभाईहरु पनि फसेका थिए । यो नक्कली भ्याट विल प्रकरणमा विनोद चौधरीका कान्छा भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टल र गोल्छा समूह माथि पनि छानविन भैरहेको थियो ।
नक्कली भ्याट विल प्रकरणको छानविन तथा कारवाही रोक्नका लागि मारवाडी समुदायसँग एउटा मात्र विकल्प थियो, खनाललाई अर्थमन्त्रालयबाट हटाउने । त्यसका लागि उनीहरुलाई एमालेको अर्थमन्त्री चाहिएको थियो, त्यो पनि भरतमोहन अधिकारी । मारवाडी समुदायलाई आश्वस्त पार्दै अधिकारीलाई अर्थमन्त्री बनाउने जिम्मेवारी लिएर बसेका थिए, विनोद चौधरी र त्रिलोकचन्द्र अग्रवाल ।
यसका लागि शंकर एक्लैले १० करोड रुपैयाँ लगानी गरेको घोषणा त्यही पार्टीमा गरेका थिए भने अरुले कति लगानी गरेका होलान त्यो अनुमान मात्र गर्न सकिने अवस्था छ । विभिन्न ‘सर्कम्ट्यान्सेस’का कारण भरतमोहनलाई पार्टीबाट सर्वसम्मत अर्थमन्त्री बनाउन निक्कै कठिन थियो । त्यसैले मारवाडी समुदायले अधिकारीलाई अर्थमन्त्री बनाउन निक्कै ठूलो लगानी गरेको प्रष्ट हुन्छ ।
भरतमोहन अधिकारी एमालेका ‘च्वाइस’ थिएनन्, किनभने झलनाथ खनालले प्रधानमन्त्री हुनासाथ घोषणा गरेका थिए, सकेसम्म संविधानसभा चुनावमा विजयी भएकालाई मात्र मन्त्री बनाउँछु भनेर । त्यसको अर्थ थियो, संविधानसभा चुनावमा मोरङ्ग क्षेत्र नम्वर २ बाट माओवादीका युवा नेता लालबहादुर सुश्लिङ मगरसँग चार हजार मतले पराजित भरतमोहन अधिकारीको पत्ता काटिनु ।
भरतमोहन आमजनताबाट त अनुमोदित थिएनन्, थिएनन् कार्यकर्ताबाट पनि अनुमोदित भएका थिएनन्, किनभने एमालेको बुटवल महाधिवेशनमा उपाध्यक्ष पदका लागि लडेका भरतमोहन अधिकारी छ जना उम्मेदवारमा भीम रावलले भन्दा पनि थोरै मत लिएर छैंटौं भएका थिए । भरतमोहन अधिकारी अर्थमन्त्री हुनका लागि एउटा मात्र अस्त्र थियो, ‘रकम’ । सो उनका लागि र उनीमार्फत एमालेमा बुझाउने रकमको जोहो विनोद चौधरी र अग्रवालले गरेका थिए ।
भ्याट छलिको मुद्धालाई अर्थमन्त्रालयले विस्तारै विस्तारै मिडियामार्फत सार्वजनिक गरेर भरतमोहन अधिकारीमाथि कारवाहीका लागि दवाव बनाइरहेको थियो । मिडिया मार्फत दिएको दवाव स्वरुप भरतमोहन अधिकारीले सुरुमा घोषणा पनि गरे, भ्याट छल्ने माथि कारवाही हुन्छ । अधिकारीले यो भनाईबाट एक निशाना दुई तिर लागेको हुनुपर्दछ । एकातिर कारवाही गरिहाल्नुपर्दछ भन्ने टोलीलाई मत्थर बनाउने अर्कोतर्फ कारवाहीका भागिदारहरुलाई थप दवाव दिएर अझ बढी पैसा असुली गर्ने । तर अधिकारीको बाहिरी वक्तव्य र भित्रि क्रियाकलाप भने दुई फरक धारमा थिए ।
त्यसको महसुस खनालले भरतमोहन अधिकारी अर्थमन्त्री हुनासाथ गरेका थिए, त्यसैले खनालले नागरिक दैनिकलाई अन्तरवार्ता दिंदै भनेका थिए, अर्थतन्त्र तहसनहस पार्ने गरी भ्याट छलि गरेका व्याक्तिलाई कारवाही नगर्न दवाव आए म राजिनामा दिन्छु । सो दवाव आयो, उनले पनि राजिनामा दिए ।
उता झण्डै डेढ महिनासम्म छानविन प्रक्रियालाई ‘होल्ड’ गरिसकेपछि अधिकारीले मुद्धा सेलाउन थालेको संकेत पाए, उता करोडौं रुपैयाँ अदा गरेका व्यापारीहरुको रोषलाई पनि सम्वोधन गर्नुपर्ने दवाव बढ्दै गयो । सायद सोमवार साँझ या राती हुनुपर्दछ उनले रामेश्वर खनाललाई सरुवा गर्ने प्रस्ताव सुनाए ।
करोडपति अधिकारी
त्यसो त भरतमोहन अधिकारीले बुझाएको सम्पत्ति विवरण पनि थुप्रै ‘क्यास’ देखिएको छ । उनले बुझाएको सम्पत्ति विवरणमा झण्डै ६० लाख रुपैयाँ बैंक मौज्दात छ भने साढे सात लाख रुपैयाँको लगानी छ । माधवकुमार नेपालपत्नी गायत्री नेपालको समेत शेयर रहेको जनता बैंकमा मात्रै अधिकारीकी श्रमती ओमकुमारी अधिकारीको नाममा ५० लाख रुपैयाँको मुद्धती खाता छ । ओमकुमारीकै नाममा यही बैंकमा ७ लाख रुपैयाँको बचत खातामा रकम छ । त्यसैगरी अधिकारीकै श्रीमतीको नाममा कृषि विकास बैंकमा दुई लाख रुपैयाँ, हिमालयन बैंकमा ४० हजार रुपैयाँ र मनकामना विकास बैंकमा पाँच हजार रुपैयाँ मौज्दात छ । भन्नलाई अधिकारीले जनता बैंकमा राखेको पैसा मोरङको जग्गा विक्री गरेर आम्दानी गरेको तथा अन्य आम्दानी प्राध्यापन र पेन्सनबाट भएको बताएका छन् ।
यसैगरी अधिकारीले मनमोहन सामुदायिक अस्पतालमा एक लाख रुपैयाँ, सिभिल होममा पाँच लाख रुपैयाँ, पासाङ्ग ल्याम्हु शेर्पा कलेजमा एक लाख १७ हजार रुपैयाँ र मनकामना सहकारीमा पाँच हजार रुपैयाँ सेयर लगानी गरेका छन् । यो सबै सम्पत्ति अधिकारीले श्रीमतीको अध्यापन र पेन्सनबाट प्राप्त भएको उल्लेख गरेका छन् । त्यसमध्ये थोरै व्याक्तिको मात्र लगानी भएको सिभिल होममा अधिकारीकी श्रीमतीले कसरी र कुन साइनोले लगानी गरिन होला त्यो भने प्रश्न उठाउन लायक छ ।
एमालेका तर्फबाट मन्त्री भएका चार जनामध्ये अधिकारी नै त्यस्ता एक्ला भाग्यमानी नेता हुन, जोसँग अरुभन्दा बढी सुन छ । अधिकारीले बुझाएको सम्पत्ति विवरणमा पैत्रिक सम्पत्ति भन्दै १५ तोला सुन ५० तोला चाँदी भएको दावी पनि गरेका छन् । अधिकारीको पृष्ठभूमी र पछिल्ला क्रियाकलापलाई हेर्दा अधिकारीको यो सम्पत्ति आश्चर्यजनक र अपत्यारिलो समेत छ । यो विषयमा थप अनुसन्धान हुन जरुरी पनि छ ।
भरतमोहन अधिकारीकी श्रीमतीका नाममा भएको सम्पत्ति विवरण
को हुन् शंकर
४० वर्ष अघि भारतबाट नेपाल छिरेका शंकरलाल गोल्यानसँग त्यतिवेला झण्डै शुन्य बराबरको सम्पत्ति थियो, यो कुरा उन्को यो वेभसाइट http://shankergroup.com/en/about-group.php मा पनि छ । झण्डै चार दशकपछि तीनै शंकरलाल गोल्यान नेपालमा झण्डै डेढ दर्जन उद्योगका मालिक भएका छन् । शंकरको दावी छ, उनको सम्पूर्ण कम्पनीले वर्षमा छ सय मिलियन डलर अर्थात २७ अर्ब रुपैयाँको कारोवार गर्छ । वीरगञ्ज चेम्वर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सदस्य र नेपाल स्टिल उद्योग संघका पनि उपाध्यक्ष गोल्यानका शंकर र जगदम्बा ब्राण्डमा कम्पनीहरु छन् ।
शंकर समूह अन्र्तगत जगदम्बा स्टिल, जगदम्बा वायर, गोवा पान मसाला, शंकर सिन्थेटिक, जगदम्बा पाइप, जगदम्बा सिन्थेटिक, जगदम्बा केमिकल, लक्ष्मी ओभरसिज, जगदम्बा सिमेन्ट, जगदम्बा स्पिनिङ मिल, जगदम्बा रोटो प्याकेजिङ, नाकासु मोटर, फोर्स एल एण्ड टी मोटर, सौभर फोटो इन्टरनेशनल, युनिटेक डेभलपर्स, सुभा श्री जे सिमेन्ट र जगदम्बा डेभलपर्स प्रा.लि. छन् ।
के हो विशाल ग्रुप
विशाल समूह पनि मारवाडी समुदायकै एउटा ठूलो व्यवसायिक घराना हो । विशाल समूहले नेपालमा आइरन, स्टिल, उपभोक्ता सामान, अन्तराष्ट्रिय व्यापार, दुईवटा इन्सुरेन्स कम्पनी, कृषि उद्योग, शिक्षा र बैंकिङ क्षेत्रमा लगानी गरेको छ । विशाल समूहले पनि वर्षमा अर्बौं रुपैयाँको कारोवार गर्छ । यही समूहले प्रजातन्त्र पुर्नस्थापनापछि इलामको चिया बगान निजिकरणका नाममा कौडीको मूल्यमा आफ्नो स्वामित्वमा सारेको थियो । यही समूहले सुरुमा भारतीय लगानीमा स्थापित युनाइटेड टेलिकम लिमिटेड -युटिएल)मा लगानी गरेको थियो ।
अहिले अर्थमन्त्री अधिकारी र खनालबीच पनि यही युटिएलको राजस्व मिनाहाका विषयमा विवाद छ । नेपाल दूरसञ्चार प्राधिकरणसँग कवोल गरेको ८९ करोड रुपैयाँ रोयल्टी नतिरेपछि प्राधिकरणले पाँच लाख रुपैयाँ जरिवाना गरेर रोयल्टी तिर्न निर्देशन दिएको छ । तर कम्पनीले भने रोयल्टी तिर्नुको सट्टा प्राधिकरणका अध्यक्ष भेषराज कंडेललाई, हाम्रो सरकारसँग विशेष सम्वन्ध छ, हामी रोयल्टी तिर्दैनौं भनिरहेको छ । सायद अर्थमन्त्री भरतमोहन अधिकारीसँगको सम्वन्धलाई नै युटिएलले राम्रो सम्वन्धका रुपमा व्याख्या गरेको होला । किन भने युटिएलको सरोकारवाला सूचना तथा सञ्चार मन्त्रालय यतिवेला माओवादीको जिम्मामा छ र माओवादी भारतसँगको राजनीतिक बदला यो कम्पनीलाई कारवाही गरेर लिन चाहिरहेको छ ।
Source: Onlinekhabar.com